अमेरिकी निर्वाचन र नेपाली मतदाताहरू
अमेरिकामा आउँदो मंगलबा, नोभेम्बर ६ मा निर्वाचन हुँदैछ। केन्द्रीय, राज्य तथा स्थानीय सबै तहका निर्वाचनहरू नेपालमा जस्तै केन्द्रीय निर्वाचन आयोगले गराउँदैन।
यस्ता सबै निर्वाचनहरू राज्य र स्थानीय सरकारले गराउँछन्। अमेरिकामा यहाँको नागरिकता लिएका सबै नेपालीहरूलाई अन्य नागरिक सरह निर्वाचनमा उम्मेदवार हुन र चुनावमा भोट दिन अधिकार हुन्छ। तर, राष्ट्रपतिको उम्मेदवार हुन भने जन्मजात अमेरिकन (Native Born Citizen) हुनुपर्छ, अन्य देशमा जन्मिएर अमेरिकन नागरिकता लिएका (Naturalized Citizen) लाई यो अधिकार हुँदैन।
यो चुनाव वर्तमान रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो ४ वर्षे कार्यकालको बिचमा हुँदैछ। त्यसैले यसलाई मध्यावधि चुनाव पनि भनिन्छ। यो निर्वाचनमा अमेरिकाको प्रतिनिधि सभा (U.S. House of Representative) का सबै ४३५ सिटहरू र सीनेट (U.S. Senate) का १०० सिटहरू मध्ये ३५ सिटहरूमा प्रतिस्पर्धा हुँदैछ। साथै, धेरै राज्यका गभर्नरहरू र राज्य र स्थानीय स्तरका अन्य धेरै पदहरूमा पनि निर्वाचन हुँदैछ।
अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा नेपाली मूलका अमेरिकीहरूले पनि उम्मेदवारी दिएका छन्। नेपाली मूलका एच. बि. भण्डारी डेमोक्रेटिक पार्टीको उम्मेदवारको रूपमा मेरिल्याण्ड (Maryland) राज्यको विधायिकाको तल्लो सदन (House of Delegates)को लागि उम्मेदवार भएका छन्।
मेरिल्याण्ड राज्यको तल्लो सदनमा ४७ डिष्ट्रिकहरुबाट जम्मा १४१ जना सदस्यहरू रहने व्यवस्था छ। भण्डारीले डेमोक्रेटिक पार्टीको निर्वाचनमा विजयी भई नोभेम्बर ६ मा हुने निर्वाचनको लागि रिपब्लिकन पार्टीका उम्मदेवारसँग डिष्ट्रिक ८को प्रतिनिधित्व गर्न प्रतिस्पर्धा गर्दैछन्।
त्यस्तै मदलसा गुरुङले न्यु हयाम्प्सायर (New Hampshire) बाट डेमोक्र्याटीक पार्टीका तर्फबाट तल्लो सदन (State Representative) मा उम्मेदवारी दिएका छन्। जहाँको तल्लो सदनमा २०४ डिष्टिकहरुबाट जम्मा ४०० जना सदस्यहरू रहने व्यवस्था छ। मदलसा गुरुङले मेर्रिमैक २४ (Merrimack 24) बाट प्रतिनिधित्व गर्न उम्मेदवारी दिएका छन्। त्यस्तै, भर्जिनिया (Virginia) बाट प्रदीप ढकालले स्थानीय इकाइको निर्वाचनमा आपनो उम्मेदवारी दिएका छन् , जुन पार्टीगत हुँदैन। उनले हरन्दॊन सिटी (Herndon City) मा टाउन काउन्सिल (Twon Council) पदमा उम्मेदवारी दिएका छन्
नेपालीहरू पनि धेरै उत्साहका साथ यस निर्वाचनलाई हेरिरहेका छन् र निर्वाचनमा भाग लिँदैछन्। अमेरिकन नागरिकता लिएका (Naturalized Citizen) नेपालीहरूको सङ्ख्यामा वृद्धिसँगै आगामी वर्षहरूमा अझ बढी सङ्ख्यामा नेपालीहरूले उम्मेदवारी दिने आशा गर्न सकिन्छ।
बढ्दो सङ्ख्यामा नेपाली मूलका अमेरिकनहरू :
सन् १९९० भन्दा पहिले अमेरिकाको नागरिकता लिने नेपालीहरूको सङ्ख्या नगन्य थियो। U.S. Department of Homeland Security को तथ्याङ्कका अनुसार आर्थिक वर्ष १९९१ (October 1, 1990 – September 30, 1991) मा जम्मा ४३ जना नेपालीहरूले अमेरिकाको नागरिकता लिएको देखिन्छ। आर्थिक वर्ष १९९६ मा गएर मात्र अमेरिकाको नागरिकता लिने नेपालीको सङ्ख्याले वार्षिक १०० नाघ्यो। सुरुमा निकै सानो सङ्ख्यामा नेपालीहरूले अमेरिकाको नागरिकता लिएका भए पनि विगतका केही वर्षमा निकै नै नेपालीहरूले अमेरिकन नागरिकता लिएको देखिन्छ।
पछिल्लो उपलब्ध तथ्याङ्क अनुसार आर्थिक वर्ष २०१७ (October 1, 2016 – September 30, 2017) मा जम्मा ७०७,२६५ जना विदेशीहरूले अमेरिकाको नागरिकता लिएका मध्य ४,५०९ जना नेपालीहरू थिए। आर्थिक वर्ष १९९१ देखि आर्थिक वर्ष २०१७को अन्त सम्ममा पुरुष र महिला गरी जम्मा ३२,४८५ जना नेपालीहरूले अमेरिकाको नागरिकता लिएको देखिन्छ। अघिल्ला वर्षहरूमा महिलाको दाँजोमा पुरुषको सङ्ख्या धेरै थियो अमेरिकन नागरिकता लिनेमा तर पछिल्ला वर्षहरूमा महिलाहरू पनि पुरुष सरहको अनुपातमा अमेरिकाको नागरिक बन्दै छन्।
बढ्दो महिलाको अनुपात:
विगत १५ वर्षको तथ्याङ्कलाई केलाउँदा आर्थिक वर्ष २००३ देखि २०१४ सम्म अमेरिकाको नागरिकता लिने नेपालीहरूको सङ्ख्यामा पुरुष र महिलाको अनुपात ६०:४० थियो। आर्थिक वर्ष २०१५ र २०१६ मा यो अनुपात ५५:४५ हुन पुग्यो। तर आर्थिक वर्ष २०१७ मा त यो अनुपात ५२:४८ पुगेको छ। अर्थात् करिब करिब बराबरको सङ्ख्यामा पुरुष र महिलाहरू अमेरिकाको नागरिक बन्दै छन्। अहिले अमेरिकाको जुन भागमा गए पनि कोही न कोही नेपाली भेटिन्छन् तर धेरै नेपालीहरू ठूला ठूला सहरहरूमा बढी पाइन्छन्।
कुन राज्यबाट कतिले लिए अमेरिकाको नागरिकता?
विगत १५ वर्ष (FY २००३- FY २०१७)को तथ्याङ्कको अध्ययन गर्दा सबभन्दा बढी नेपालीले अमेरिकाको नागरिकता लिएको राज्यहरूमा क्रमशः क्यालिफोर्निया (३,९८२), न्यूयोर्क (३,७६९), टेक्सस (३,५५८), भर्जिनिया (३,१३३) र मेरील्याण्ड (१,९९४) छन्। त्यस पछि धेरै नेपालीले अमेरिकन नागरिकता लिएका राज्य मा माशाचुटेश रकोलोराडो पर्छन्।
छिमेकी देशबाट कति ?
आर्थिक वर्ष २०१७ मा दक्षिण एसियाली राष्ट्रमध्ये सबैभन्दा बढी क्रमशः भारतबाट ५०,८०२ जना, पाकिस्तानबाट १०,१६६ जना, बङ्गलादेशबाट ८,६२९ जना, भुटानबाट ५,५५७ जना र नेपालबाट ४,५०९ जनाले अमेरिकाको नागरिकता लिएको देखिन्छ।
त्यसपछि क्रमशः अफगानिस्तानबाट १,४१४ जना, श्रीलङ्काबाट १,३६४ जना र माल्दिब्सबाट जम्मा ३ जनाले मात्र अमेरिकाको नागरिकता लिएको देखिन्छ। यी देशहरूको सन् २०१७ को जनसङ्ख्या क्रमशः भारत (१,२८२ मिलिएन), पाकिस्तान (२०५ मिलिएन), बङ्गलादेश (१५८ मिलिएन), अफगानिस्तान (३४ मिलिएन), नेपाल (२९ मिलिएन), श्रीलङ्का (२२ मिलिएन), भुटान (०.७६ मिलिएन) र माल्दिव्स (०.३९ मिलिएन) रहेको थियो।
देशको जनसङ्ख्याको आधारमा विश्लेषण गर्ने हो भने सबभन्दा बढी भुटानीहरूले ठूलो अनुपातमा (प्रति दस लाख जनसङ्ख्यामा ७,३२८ जना) अमेरिकाको नागरिकता लिएको देखिन्छ।
नेपाली मूलका भुटानी शरणार्थीहरू अमेरिकामा बसाइ सरेका र तिनीहरूले अमेरिकाको नागरिकता लिएकोले यसो भएको हुनु पर्छ। भुटानबाहेकका देशहरूको जनसंख्या र त्यस देशबाट अमेरिकाको नागरिकता लिनेको सङ्ख्याको अध्ययन गर्दा सबभन्दा ठूलो अनुपातमा (प्रति दस लाख जनसंख्यामा १५३ जना) नेपालीहरूले अमेरिकाको नागरिकता लिएको देखिन्छ।
यो अनुपात श्रीलङ्काको ६१, बङ्गलादेशको ५५, पाकिस्तानको ५०, भारतको ४० र माल्दिव्सको ८ रहेको छ।
सारांशमा, अमेरिका एक सपनाको देश हो। संसारभर का मानिसहरू आफ्नो अमेरिकन सपना (“American Dream”) पुरा गर्न बर्सेनि लाखौँको सङ्ख्यामा यो देशको नागरिक बन्दछन्। अमेरिका यस्तो देश हो जहाँ कसैले पनि, चाहे त्यो जहासुकै देशमा जन्मेको किन नहोस्, जुन सुकै धर्म व संस्कृतिमा हुर्केको किन नहोस्, धनी व गरिब जस्तो सुकै परिवारमा पालिएको किन नहोस्, यदि उसले कडा मिहिनेत गर्छ, जोखिम उठाउन पछि पर्दैन र त्याग गर्न सक्छ भने उसलाई यो देशमा प्रगति गर्न कसैले रोक्न सक्दैन।
आफ्नो ‘अमेरिकन ड्रिम’ पुरा गर्न बर्सेनि हजारौँको सङ्ख्यामा नेपालीहरू पनि अमेरिका आउँछन्। अमेरिकामा यो देशको नागरिकता लिएका नेपालीहरूको सङ्ख्या बढ्दो छ। पुरुष मात्र नभई महिला पनि उही अनुपातमा अमेरिकाको नागरिक बन्दै छन्। नेपालीहरू अमेरिकाको सबैजसो भागमा छरिएर रहेका भए पनि धेरै जसो ठूला राज्य र सहरहरूमा केन्द्रित छन्।
आर्थिक वर्ष २०१७ मा अघिल्लो वर्षको तुलनामा कम नेपालीले अमेरिकाको नागरिकता लिएको देखिन्छ। यसो हुनुमा धरै कारणहरू हुन सक्छन् – वर्तमान सरकारको कारण नागरिकताको आवेदनमा निर्णय गर्न ढिलाइ हुनु, नागरिकता सम्बन्धी नियमहरूमा परिवर्तन हुनसक्ने आशङ्कामा धेरै व्यक्तिहरूले आवेदन दिँदा निवेदन उपर निर्णय गर्न मानवीय साधनको कमी भई निर्णय हुन ढिलाइ हुनु, वा गत वर्षभन्दा कम नेपालीहरूले नागरिकताको लागि निवेदन दिनु, आदि।
नेपालीहरू राजनैतिक रूपमा सचेत छन् र ठूलो सङ्ख्यामा यहाँको निर्वाचनमा भाग लिँदै छन्। केहीले त आगामी निर्वाचनमा आफूलाई उम्मेदवारको रूपमा खडा पनि गरेका छन्। आशा गरौँ , धेरै भन्दा धेरै नेपालीहरूले यहाँको चुनावमा चासो देखाउने छन्, आफ्नो भोट दिने अधिकार र कर्तव्य पुरा गर्ने छन्, र कोही त निर्वाचित भई यो देश र समाजको सेवा गर्ने छन्।
(बन्जाडे एन.आर.एन.ए.अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुन्)
Published in Setopati on November 4, 2018