Introduction and Access, Bridge and Pay Back

गैर-आवासीय नेपाली सङ्घ: परिचय र पहुँच, पुल र पे ब्याक

गैर-आवासीय नेपाली सङ्घ (एन आर एन ए) को उद्देश्य भनेको नेपाली परिचय (identity) लाई बचाई राख्नु र अझ उच्च बनाउन सहयोगी हुनु हो र नेपालीहरूको उनीहरू बसोबास गरेको देशमा पहुँच (access) बढाउनु हो । यस संस्थाको उद्देश्य संसारभर छरिएर रहेका नेपालीहरूको नेपालसँग सेतु अर्थात् पुल (bridge) को काम गर्नु हो; र नेपालीहरूले विदेशमा सिकेको ज्ञान, सिप र आर्जन गरेको साधन र श्रोतबाट केही रूपमा आफ्नो जन्मभूमि नेपाल आमाको हितमा लगानी गर्ने अर्थात् नेपाललाई केही दिने (pay back) कार्यलाई सहजता प्रदान गर्नु हो ।

१. स्थापना र उद्देश्य:
संसारभर छरिएर रहेका नेपालीहरू (Nepali Diaspora) र नेपाल सरकार बिच सेतु अर्थात् पुल को रूपमा काम गर्न विभिन्न कारणले विदेशमा रहेका नेपालीहरूलाई एकै छातामुनि एकजुट बनाउने उद्देश्यले अक्टोबर ११, २००३ मा गैर-आवासीय नेपाली सङ्घ (Non-Resident Nepali Association) को स्थापित भएको थियो। यो संस्थालाई गैर-आवासीय नेपाली नियम २०६४ (Non-Resident Nepali Act 2064) मार्फत नेपाल सरकारबाट कानुनी मान्यता प्राप्त छ।

व्यवहारिक उद्देश्यका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (South Asian Association for Regional Cooperation, SAARC) मा सहभागी सदस्य राष्ट्रहरूमा बस्ने नेपालीहरू वा सदस्य राष्ट्रहरूमा बस्ने नेपाली मूलका व्यक्तिहरूलाई गैर-आवासीय नेपाली अर्थात् Non-Resident Nepali (एन आर एन) मानिँदैन; सार्क राष्ट्र बाहेकका देशमा रहने नेपाली वा नेपाली मूलका व्यक्तिहरूलाई मात्र एन आर एन मानिन्छ।

विभिन्न देशहरूमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सिप, प्रविधि र पूजीको परिचालन गरी नेपालको विकासमा टेवा पुराउने उद्देश्यले रसियामा बस्ने नेपालीहरूको सक्रियतामा सन् २००३ अगष्टमा लन्डनमा एक भेला आयोजना गरी सोही वर्षको अक्टोबर ११-१३ मा काठमाडौँमा पहिलो विश्व सम्मेलन गरेर बिधिबत रूपमा गैर-आवासीय नेपाली सङ्घ अर्थात् एन आर एन ए को स्थापना भएको थियो ।

एन आर एन ए का एक अभियन्ता डा. हेम राज शर्मा का अनुसार “एन आर एन ए सोचको उत्पत्ति रसियामा, अवधारणाको छनोट लन्डनमा र विधिवत स्थापना काठमान्डूमा भएको मानिन्छ । त्यसैले होला सोभियत युनियन बाट सन् १९९१ मा स्वतन्त्र भएको देश वेलारुस का एन आर एन ए का अभियन्ता डा. उपेन्द्र महतो यस संस्थाका संस्थापक सभापति रहेका छन् र त्यसपछि पनि रुसका एन आर एन हरूको नेतृत्व तहमा उपस्थिति उल्लेखनीय रहेको देखिन्छ ।

२. एन आर एन ए को अन्तर्राष्ट्रिय समन्नय समितिको नेतृत्व:
एन आर एन ए को स्थापना सन् २००३ मा भय पछि अहिले सम्मको १६ वर्षमा ८ कार्यकाल पुरा हुँदै छ । यस बिच संस्थाको आकारमा धेरै नै बिस्तार भएको छ भने नेतृत्वमा पनि बिस्तारै रसिया वा पूर्व सोभियत युनियनका राष्ट्रहरू भन्दा बाहिरका राष्ट्रबाट पनि सहभागिता बढ्दै गएको देखिन्छ ।

जम्मा जम्मी ८ कार्यकाल मध्ये ४ कार्यकालको नेतृत्व रसिया वा पूर्व सोभियत युनियनका एन आर एन बाट भएको देखिन्छ भने वाकी ४ कार्यकालमा अस्ट्रेलिया र जापान बाट २-२ कार्यकालको नेतृत्व भएको देखिन्छ । सन् २००३ देखि सन् २००९ सम्म तिन कार्यकाल वेलारुस का डा. उपेन्द्र महतोले गर्नु भयो भने सन् २०११-२०१३ को एक कार्यकाल रसियाका श्री जीवा लामिछानेले गर्नु भयो ।

त्यस्तै अस्ट्रेलियाका डा. शेष घलेले दुई कार्यकाल नेतृत्व गर्नु भयो भने जापानका देवमान हिराचनले एक कार्यकालको नेतृत्व गर्नु भयो भने भवन भट्टले अहिले एक-एक कार्यकालको नेतृत्व गर्दै हुनुहुन्छ ।

वेलारुसका डा. उपेन्द्र महतोले एन आर एन ए को स्थापना हुँदा पहिलो सभापतिको रूपमा सन् २००३-२००५ को लागि नेतृत्व सुरु गरी सन् २००५-२००७ र सन् २००७-२००९ गरी तिन कार्यकाल को नेतृत्व गर्नु भयो । डा. महतो मात्र तीन कार्यकालको नेतृत्व गर्ने सभापति हुनुहुन्छ । बर्तमानमा दुई भन्दा बढी कार्यकालको नेतृत्व गर्न मिल्दैन ।

सन् २००९ मा भएको चौथो राष्ट्रिय अधिवेशनबाट एन आर एन ए को सभापतिको रूपमा जापानका देवमान हिराचनले नेतृत्व गर्नु भयो । हिराचनले एस अघि सन् २००३ मा संस्थाको स्थापना हुँदा २००३-२००५ को लागि कोषाध्यक्ष को रूपमा सेवा सुरु गर्नु भएको र पछि सन् २००५-२००७ र सन् २००७-२००९ मा उप-सभापतिको रूपमा सेवा गरी सक्नु भएको थियो ।

त्यस्तै, रसियाका जीवा लामिछाने सन् २०११ को अधिवेशनबाट सन् २०११-२०१३ को लागि एन आर एन ए को सभापति को नेतृत्वमा आउनु भयो । उहाँले यस पहिले संस्थाको स्थापना हुँदा सन् २००३-२००५ को लागि रसियाबाट आई सी सी सदस्यको रूपमा सुरु गरी सन् २००५-२००७ र सन् २००७-२००९ मा पनि आई सी सी सदस्य र सन् २००९-२०११ मा संस्थाको उप-सभापतिको रूपमा सेवा गर्नु भएको थियो । त्यसपछि सन् २०१३ मा अस्ट्रेलियाका डा. शेष घले सन् २०१३-२०१५ को लागि एन आर एन ए को सभापतिमा निर्वाचित हुनु भयो । सभापति हुनु भन्दा पहिले उहाँ एन आर एन ए को कुनै पनि मुख्य भूमिकामा हुनु हुन्थेन । उहाँ सन् २०१५ मा पुन दोस्रो कार्यकाल सन् २०१५-२०१७ को लागि सभापति बन्नु भयो ।

हाल जापानका भवन भट्ट एन आर एन ए को सभापति हुनुहुन्छ । भट्ट सन् २०१७ मा २०१७-२०१९ को कार्यकाल को लागि संस्था को सभापतिमा निर्वाचित हुनु भएको हो । यस भन्दा पहिले उहाँले सन् २०११-२०१३ को लागि एन आर एन ए को कोषाध्यक्षबाट सेवा सुरु गरी सन् २०१३-२०१५ मा नेतृत्व बाहिर रही फेरि सन् २०१५-२०१७ को लागि उप- सभापतिको रूपमा सेवा गरी सन् २०१७-२०१९ को लागि संस्थाको सभापतिको रूपमा नेतृत्वमा हुनुहुन्छ ।

अहिले सम्म सभापतिको रूपमा नेतृत्वमा पुगेका व्यक्तिहरूमा प्रथम वा संस्थापक सभापति डा. उपेन्द्र महतो र डा. शेष घलेले पहिलो पल्ट संस्थाको सभापति बन्नु भन्दा पहिले एस संस्थाको अन्य कुनै मुख्य पदमा बसेर काम गर्नु भयको थिएन ।

संस्थाको स्थापना सन् २००३ भए पछि लामो समय सम्म (सन् २००३-२००९ र २०११-२०१३) सम्म रसिया वा पूर्व सोभियत युनियनका व्यक्तिहरू संस्थाको सभापतिको रूपमा नेतृत्व गरे भने सन् २००९ मा मात्र पहिलो पटक रसिया वा पूर्व सोभियत युनियन भन्दा बाहिर जापानका देवमान हिराचन सभापति बन्नु भयो । तर सन् २०११-२०१३ को लागि पुन रसियाका जीवा लामिछाने सभापति बन्नु भयो । त्यसपछि सन् २०१३ मा अस्ट्रेलियाका डा. शेष घले संस्थाको सभापतिको रूपमा नेतृत्व पुग्ने अवसर प्राप्त गर्नु भयो भने बर्तमानमा सन् २०१७ देखि जापानका भवन भट्ट एन आर एन ए को सभापति हुनुहुन्छ ।

३. एन आर एन ए का लक्ष्यहरू:
एन आर एन ए को मुख्य उद्देश्य भनेको नेपाल सरकार र विश्व भरि छरिएर रहेका नेपालीहरू वा नेपाली मूलका व्यक्तिहरू बिच एक सेतु अर्थात् पुलको रूपमा काम गर्नु हो । एन आर एन ए को लक्ष्य भनेको देश बाहिर रहेका नेपालीहरूलाई एउटै छाता संस्था अन्तर्गत गोल बन्द गर्दै एकतावद्द गरी एक साझा मञ्च खडा गर्ने र यसबाट प्राप्त शक्तिलाई (१) विभिन्न देशमा रहेका नेपालीहरूका उनीहरूका स्थानीय चासो (interest) र रुचिका विषयको रक्षा गर्नु हो, (२) एन आर एनहरुका नेपाल र नेपाल सरकार सँग भएका सरोकारका विषयमा उनीहरूको प्रतिनिधित्व गर्नु हो र (३) एन आर एन सँग भएका साधन र स्रोतहरू नेपाल र नेपालीहरूको कल्याणका लागि सदुपयोग गर्नु हो ।

३.१ स्थानीय सरोकारका विषय र एन आर एन ए:
हामी संसार भरका जुनसुकै देशमा गए पनि, जुनसुकै देशको बासिन्दा वा नागरिक भए पनि हामी आफ्नो वा आफ्नो पुर्खाको मुलुक भुल्न सक्दैनौ; हामी जहाँ गए पनि हाम्रो नेपाली पहिचान हामी सँगै जान्छ; हामी नेपालमा वा संसारभर जहासुकै रहेका नेपालीहरूको खुसीमा रमाउँछौ भने उनीहरूको दु:खमा दु:खी हुन्छौ । एन आर एन ए का उद्देश्यहरू मध्ये देश बाहिर रहेका नेपालीहरूलाई सङ्गठित गरी उनीहरू रहेका देशहरूमा स्थानीय सरोकारका विषयमा सहयोग गर्नु हो । सबै देशहरूमा स्थानीय आवश्यकता र सरोकारका विषयहरू फरक फरक हुन सक्छन् – अमेरिकामा बस्ने एन आर एन का सरोकारका विषयहरू मध्यपूर्वका देशहरू मा बस्ने एन आर एन का भन्दा फरक छन् ।

अमेरिकामा वा अन्य मुलुकमा भएका एन आर एन हरूका स्थानीय चासोका विषय मध्य पहिचानको विषय महत्त्वपूर्ण रहँदै आएको छ । अमेरिकाको सन्दर्भमा भन्नुपर्दा यहाँको मूलधारको राजनीतिमा कसरी स्थापित गर्न सकिन्छ भन्ने विषय महत्त्वको छ । त्यस्तै, नयाँ पुस्तामा नेपाली भाषा र संस्कृति पुराई नेपालीपन बचाई राख्न के गर्नु पर्ला? हाम्रा नयाँ पुस्ताका नेपालीहरूलाई यो देशमा सफल बनाउन के गर्न सकिन्छ? नेपाली समाजलाई कसरी सर्वाङ्गिक रूपमा माथि उठाउन सकिन्छ? र अन्य विषयहरू पर्छन् ।

यी विषयहरू एक आपसमा अन्योन्याश्रित छन् – जब एक नेपालीले अमेरिकन समाजमा आफ्नो उत्कृष्ट परिचय बनाउँछ त्यसले समग्र नेपालीहरूको शिर ठाडो बनाउँछ; त्यो एक नेपालीको मात्र नभई समग्र नेपालीको परिचय हुन्छ । हालसालै भएको अमेरिकाको निर्वाचनमा केही नेपालीहरूले सफलता हासिल गर्नु भएको छ । त्यो सफलता निर्वाचनमा सहभागी उम्मेदवारको मात्र नभई सम्पूर्ण नेपालीको जीत ठानेका छौ । स्थानीय, राज्य तथा केन्द्र स्तरीय राजनीतिमा सहभागिताले नेपाली पहिचानलाई (identity) वृद्धि गर्न सहयोग गर्छ भने यसले नेपालीको यहाँको मूलधारमा पहुँच (access) बढाउँछ र समग्र नेपाली समाजलाई उकाल्न (upward mobility) मद्दत गर्दछ ।

एन आर एन ए को घोषित उदेस्यहरुलाई सरसरती हेर्दा एन आर एन हरूलाई उनीहरूका सम्बन्धित देश हरूको मूलधारको राजनीति वा सामाजिक क्षेत्रमा सहभागिता गराउने लक्ष्य स्पष्ट सँग प्रस्टाईएको छैन । एन आर एन भएका धेरै देशहरूमा नेपालीहरू त्यहाँको मूलधारको राजनीतिमा जान सक्छन् र अमेरिकामा केही एन आर एनहरूले निर्वाचनबाट मूलधारको राजनीतिमा प्रवेश पनि गरी सकेका छन् ।

सन् २०१८ मा अमेरिकाको विभिन्न तहको निर्वाचनमा केही नेपालीहरूले पनि निर्वाचित भई सफलता प्राप्त गरेको र ठुलो हिस्सामा नेपालीहरूले स्थानीय राजनीतिमा सम्लग्ना हुनु पर्ने धारणा व्यक्त गर्दै आएका छन् । एन आर एन ए मा लाग्ने साथीहरूलाई पनि नेपालको राजनीतिक पार्टी को राजनीति भन्दा बरु अमेरिकाको स्थानीय राजनीतिमा सहभागी हुने वा अरूलाई पनि सहभागी हुन उत्प्रेरित गर्नु पर्छ । एन आर एन ए ले पनि आफ्नो घोषित लक्ष्यहरूमा एन आर एन हरू रहेको देशको मूलधारको सामाजिक क्षेत्रमा (mainstream integration) आफ्नो नेपाली परिचय कायमै राखेर सहभागी हुन उत्प्रेरक गर्ने कुरा समावेश गर्नु वान्छनीय हुन्छ ।

३.२ एन आर एन का नेपाल सरकारसँग सरोकारका विषयहरू – नेपाली नागरिकताको निरन्तरता:
“एक पटकको नेपाली, सदैको नेपाली” भन्ने मूल मन्त्र को हाम्रो विश्वासले हामीलाई आफ्नो ऊर्जा र श्रोतहरूको उच्च सदुपयोग गरी नेपाल, नेपालीहरू र नेपाली समाजको उत्थानको लागि परिचालन गर्न उत्साहित गर्छ, हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ । संसारभर जहाँ बसेका भए पनि, जुन देशको नागरिकता लिएका भए पनि नेपाली मूलका सबैलाई नेपाल र नेपालीको अचाक्ली माया छ । हामीहरू अमेरिकामा भए पनि हाम्रो जरो नेपालमा छ; हाम्रा परिवारका सदस्यहरू नेपालमा छन् । नेपाल हामीहरूको जन्मस्थल मात्र नभई हाम्रा अमेरिकामा जन्मिएका सन्तानहरूको लागि तिनका पुर्खाको देश हुन आउँछ । सयौँ वर्ष पहिले अफ्रिकाका देशहरूबाट ल्याइएका व्यक्तिहरू अहिले सम्म पनि यो देशमा अफ्रिकन-अमेरिकन को रूपमा चिनिन्छन् । हामीहरू अमेरिकाको नागरिकता लिएका व्यक्तिहरू हौ वा हाम्रा अमेरिकामा जन्मेका सन्तान किन नहुन सबैलाई नेपाली-अमेरिकन भनिन्छ । हाम्रो चिनारी हामी सँगै रही रहन्छ ।

एन आर एन ए ले “एक पटक को नेपाली, सधैँ को नेपाली” भन्ने मूल मन्त्रको कार्यान्वयको लागि पहल गरी नेपालको संविधानमा दोहोरो नागरिकता सम्बन्धी प्रावधान समावेश गराउन सफल भएको छ । संविधानमा व्यवस्था भएको भावनालाई ऐन कानुन बनाई अमेरिकामा वा अन्य देशमा छरिएर रहेको नेपालीहरूको नेपालसँगको सम्बन्धलाई बचाई राख्न एन आर एन ए ले धेरै काम गर्न वाकी छ । धेरै नेपालीहरूका बुबाआमाहरु पनि आफ्ना धेरै जसो सन्तानहरू अमेरिकामा भयकोले अमेरिकामा आउने क्रम बढ्दो छ । आगामी वर्षहरूमा अमेरिका लगायत विदेशमा रहेका नेपालीहरूको नेपालमा रहेको पुर्खौली सम्पत्तिको सुरक्षा, विदेशमा रहेका नेपालीहरूको नेपालमा लगानीको लागि सरलता र लगानीबाट प्राप्त भएको मुनाफालाई अमेरिका भित्राउने सरल कानुनी व्यवस्था तथा नेपालमा भयको लगानीमा हुने दोहोरो कर प्रणालीको समाधान जस्ता धेरै जटिल विषयहरू छन् र यी विषयहरूमा विदेशमा रहेको नेपालीहरूको प्रतिनिधित्व गर्ने संस्था एन आर एन ए हो ।

३.३ एन आर एन सँग भएकाका साधन र स्रोतहरू नेपाल र नेपालीहरूको कल्याणका लागि सदुपयोग गर्ने:
एन आर एन ए ले प्रतिनिधित्व गरेको नेपाली डायस्पोराको सञ्जाल एक बलियो शक्तिको रूपमा विकास भएको तत्थ्य कसैबाट लुकेको छैन र यसले विश्वभर छरिएर रहेका नेपालीहरूका चासो को प्रतिनिधित्व गर्न सक्छ । एन आर एन ए को लक्ष्यहरू मद्दे संसार भर छरिएर रहेका नेपालीहरूलाई एउटै छाता संस्था अन्तर्गत गोल बन्द गर्दै उनीहरूका साधन र स्रोतहरू नेपाल र नेपालीहरूको कल्याणका लागि सदुपयोग गर्नु हो । यी लक्ष्यहरू प्राप्त गर्न सङ्घले नेपालको आर्थिक र सामाजिक विकासको लागि विदेशी सिधा लगानी (Foreign Direct Investment, or FDI) सहित एनआरएन लगानीलाई आकर्षित गर्ने, विश्वव्यापी रूपमा नेपाली संस्कृति र सम्पदाको संरक्षण गर्दै नेपालमा पर्यटनको प्रवर्धन गर्ने र नेपालको सामाजिक आर्थिक विकासको लागि एनआरएनहरूसँग भएको ज्ञान, दक्षता, पुँजी र अन्य स्रोतहरू को परिचानन गर्ने जस्ता गतिविधिहरू सञ्चालन गर्ने गर्दछ ।

एन आर एन का यी लक्ष्यहरू एक दुई वर्षहरूमा पुरा हुन सक्दैनन् तर यो संस्था आफ्ना घोषित लक्ष्यहरू पुरा गर्ने दिशामा छ वा छैन भन्ने कुरा महत्तपूर्ण हुन्छ । गैर-आवासीय नेपाली सङ्घको स्थापना पछि संस्थाको चासो, चिन्ता र प्रतिबद्धताहरूलाई प्रतिनिधित्व गर्न हालसम्म अमेरिका लगायत संसार भरका ७८ देशहरूमा राष्ट्रिय समन्वय परिषद् (National Coordination Council) स्थापना गरी यो संस्था सबै गैर-आवासीय नेपालीहरूको साझा संस्थाको रूपमा विकसित भएको छ। आउ तपाईँ हामी पनि गर्वका साथ एस संस्थाको सदस्य बनौँ । जय एन आर एन !!!


(डा. बन्जाडे एन आर एन ए अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुन्)

Publised in Setopati on February 10, 2019

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top