Why should Nepalese participate in the American census?

अमेरिकी जनगणनामा नेपालीले किन र कसरी सहभागिता जनाउने ?

अमेरिकाको संविधानको भाग १ खण्ड २ मा प्रत्येक दश वर्षमा जनगणना गर्नु पर्ने प्रावधान अनुसार यस वर्ष जनगणना हुँदै छ । अमेरिकी जनगणनाहरू महत्त्वपूर्ण हुन्छन् किनकि यसले सरकारमा विभिन्न राज्यको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्वको निर्धारण गर्दछ । विभिन्न राज्यको जनसङ्ख्याले केन्द्रीय सरकारबाट ती राज्यहरूले स्वास्थ्य, शिक्षा, बसोबास, आर्थिक विकास, सामाजिक सेवा, बाटोघाटो, यातायात र अन्य क्षेत्रमा प्राप्त गर्ने सहयोगको निर्धारण गर्दछ । साथै, सही तरिकाले जनगणनाको फर्म भरेमा यसले नेपालीहरूको पहिचान सहित तथ्याङ्क हासिल गर्न सहयोग गर्न सक्छ । 

अमेरिकामा हुन गइरहेको जनगणना २०२० मा भाग लिन अमेरिकामा बस्ने नेपालीहरू लगायत सम्पूर्णको अधिकार र कर्तव्य पनि हो; अमेरिकी कानुन अनुसार अमेरिकामा बस्ने सबैले जनगणनामा भाग लिने पर्ने ब्यबस्ठा गरेको छ । जनगणनामा व्यक्तिको आप्रवास सम्बन्धित कुनै पनि प्रश्न छैनन्; अमेरिकामा हुने नेपालीहरू लगायत सबै मानिसहरूले यसमा भाग लिन पाउँछन्। तर यो जनगणना चुनौतीरहित भने छैन।

सबै जनाको गणना गर्नु एक चुनौती पूर्ण कार्य छ विशेष गरी आप्रवासी समुदायहरूको सम्बन्धमा । समाचार माध्यम र सोसिअल मिडियामा विदेशी प्रति प्रतिकूल धारणा व्याप्त भएको माहौलमा र आप्रवासी सम्बन्धमा सरकार कठोर बन्दै गएको भन्ने आम जनताको बुझाई रहेको यो वातावरणमा आप्रवासीहरूको सही गणना गर्ने काम चुनौती पूर्ण छ । अझ, आप्रवासी समुदायहरूमा जनगणनामा नागरिकता सम्बन्धित प्रश्न पनि थप्न गरिएको असफल प्रयासले एक किसिमको अविश्वासको वातावरण सृजना गरेको छ । अमेरिकी नेपाली समुदायमा कार्यरत नेपाली संघ-संस्थाहरु जुटेर सबै नेपालीहरूलाई जनगणनामा भाग लिन र यसो गर्दा नेपाली पहिचान खुल्ने गरी फर्म भर्न अभिप्रेरित गर्नु अति आवश्यक छ ।

जनगणनाकहिलेकसरीहुँदै?

अमेरिकाको तथ्याङ्क विभागका अनुसार जनगणना २०२० को गणना दिन अप्रिल १ हो । अमेरिकी जनगणनाको इतिहासमा पहिलो पल्ट अनलाइन बाट पनि फर्म भर्ने व्यवस्था छ र फोनबाट पनि आफ्ना विवरण दिन सकिन्छ । त्यस्तै तथ्याङ्क विभागबाट प्राप्त कागजी प्रश्न पत्रमा आफ्नो विवरण भरि हुलाकबाट पठाएर पनि २०२० को जनगणना भाग लिन सकिन्छ ।

अनलाईनबाट: तथ्याङ्क विभागले जनगणनामा भाग लिन अनुरोध सहितको निमन्त्रणा पत्र मार्च १२ देखि मार्च २० को बिचमा पठाउँछ । यस पत्रमा कुन ऒएभसाईटमा गएर सोधिएका प्रश्नहरूको उत्तर दिई जनगणनामा भाग लिन सकिन्छ भन्ने जानकारी समावेश गरिएको हुन्छ । यो एउटा उत्तम तरिका हो २०२० को जनगणनामा भाग लिन लाई । तर सबै सँग इन्टरनेट को सुविधा नहुन सक्छ र अरूलाई अनलाइन मा आफ्नो विवरण दिन मन नपर्न सक्छ ।

फोन बाट: तथ्याङ्क विभागले मार्च १२ देखि मार्च २० को बिचमा पठाएको निमन्त्रणा पत्रमा फोन नम्बर पनि हुन्छ जुन नम्बर मा सम्पर्क गरी सोधिएका प्रश्नहरूको उत्तर दिएर २०२० को जनगणना भाग लिन सकिन्छ।

हुलाकबाट कागजी प्रश्न पत्र मार्फत: तथ्याङ्क विभागले अप्रिल ८ र अप्रिल १६ को बिचमा फेरि सम्झाउनलाई एउटा पत्र र यसको साथमा कागजी प्रश्न पत्र पनि पठाउँछ । यसमा सोधिएका प्रश्नहरूको उत्तर दिएर पनि २०२० को जनगणनामा भाग लिन सकिन्छ।

अनलाइन, फोन वा हुलाक बाट फर्म भरि २०२० को जनगणनामा भाग नलिएका परिवारको हकमा अमेरिकी तथ्याङ्क विभागले मे महिना देखि यस्ता व्यक्तिहरूका घरघरमा गणकहरूलाई पठाउँछ र सम्बन्धित व्यक्तलाई सोधेर फर्म भर्ने गर्दछन् । त्यसैले गणकहरू घरघर आउनु पर्ने अवस्था सृजना हुनु भन्दा पहिले नै सम्पूर्ण नेपालीहरूलाई अनलाइन, फोन वा कागजी प्रश्न पत्र मार्फत २०२० को जनगणना भाग लिन उपयुक्त हुन्छ ।

कस्ता प्रश्नहरू किन सोधिन्छन् ?

जनगणना २०२० मा भाग लिन एकदम सजिलो छ ।  यसमा अमेरिकी तथ्याङ्क विभागले तयार पारेको तपाई र तपाईँको घरमा अप्रिल १, २०२० मा बस्ने व्यक्तिहरू सम्बन्धी प्रश्नहरूको उत्तर दिए पुग्छ ।  प्रश्नको उत्तर दिँदा घर मुली बाट सुरु गर्दा कोही पनि नछुट्ने हुन्छ । घर मुलीको लागि जम्मा ९ वटा प्रश्नहरू छन् । यहाँ अङ्ग्रेजीमा सोधिएका प्रश्नहरूको नेपाली हुबहु होइन, प्रश्नहरूको भावार्थ प्रस्तुत गरिएको छ ।

प्रश्न #१ देखि ४ सम्म परिवारका सदस्यहरूको शंङ्ख्या र घरको स्वामित्व सम्बन्धमा छन् र यी प्रश्नहरूको उत्तर घर मुली वा एक प्रतिनिधिले सजिलै दिन सक्छन् ।

प्रश्न # १. सन् २०२० अप्रिल १ मा यो घर, अपार्टमेन्ट, वा मोबाइल घरमा कति जना मानिसहरू बस्नु हुन्थ्यो ?

यहाँ, तपाई आफ्नो घर मा बस्ने सबैलाई गणना गर्नुपर्छ । साना बाल बालिकाहरूलाई पनि गणना गर्नु पर्छ । साथै, अस्थायी रूपमा बस्ने रूममेटहरू, साथीहरू र परिवारका सदस्यहरू लाई पनि समावेश गर्नु पर्छ । यसले अमेरिकाको सम्पूर्ण जनसङ्ख्या गणना गर्न मद्दत गर्दछ र सबै मानिसहरू जनगणना दिवस (अप्रिल १, २०२०) का दिन उनीहरू प्रायः रूपमा बस्ने स्थानबाट गणना गरिने कुराको सुनिश्चितता गर्दछ। तर अप्रिल १ मा घरबाट टाढा कलेजमा बस्ने, सेनाको ब्यारेकमा बस्ने, नर्सिङ होममा बस्ने, जेलमा भएका व्यक्तिहरू लाई यसमा समावेश गर्नु पर्दैन ।

प्रश्न # २. के तपाइकोमा अप्रिल १, २०२० मा तपाईँले प्रश्न १ मा समावेश गर्नुभएका बाहेक अन्य व्यक्तिहरू पनि बसेका थिए ?

तपाईँको सम्बन्धमा लागू हुने सबैमा X चिन्ह लगाउनुहोस्:

  • सम्बन्धित वा असम्बन्धित बालबालिकाहरू (जस्तै, नवजात शिशुहरू, नातिनातिनाहरू, वा पालन पोषण गर्न राखिएका बालबालिकाहरू);
  • आफन्तहरू (जस्तै, वयस्क केटाकेटीहरू, चचेरे भाइहरू, बुहारीहरू, वा जुवाईहरू);
  • नाता सम्बन्ध नपर्ने व्यक्तिहरू (जस्तै, रूममेट वा बालबालिकाहरूको स्याहारसुसार गर्न सँगै बसेका सुसारेहरू);
  • अस्थायी रूपमा बसेका व्यक्तिहरू; र
  • थप कोही बस्दैनन् (प्रश्न नम्बर १ मा समावेश गरेका बाहेक थप कोही बस्दैनन् भने)

सन् २०२० जनगणनाको लक्ष्य सबैलाई एक पटक मात्र र सही ठाउँमा गणना गर्नु हो। यी माथि उल्लेखित व्यक्तिहरू अक्सर गणनामा छुटाइन्छन् र कोही पनि नछुटुन् र कोही पनि नदोहोरिउन् भन्ने कुराको सुनिश्चितता गर्न यो प्रश्न सोधिएको हो । तपाईँको घरमा बस्ने सबैको गणना गरिएको हुनुपर्दछ — नवजात शिशु, रूममेट, र अस्थायी रूपमा तपाइसँग बस्ने सबै को गणना गरिएको हुनुपर्दछ ।

प्रश्न # ३. यो घर, अपार्टमेन्ट, वा मोबाइल घर (एक उत्तरमा X चिन्ह लगाउनुहोस्)

यहाँ निम्न चार वटा उत्तर मध्ये एक सही उत्तर छान्नु पर्छ:

  • तपाई आफै वा अरू कसैको स्वामित्वमा भएको घर (धितो वा ऋण भएको)
  • तपाई आफै वा अरू कसैको स्वामित्वमा भएको घर (धितो वा ऋण नभएको)
  • भाँडामा
  • भाँडा बिना सित्तैमा बसेको

यो प्रश्न ले आफ्नै घर हुने र भाडामा बस्ने हरूको बारेमा तथ्याङ्क तयार पार्न मद्दत गर्दछ। आफ्नै घर हुनेहरूको प्रतिशतले देशको अर्थव्यवस्था को एक सूचक को रूप मा काम गर्दछ । यस्ता तथ्याङ्कले आवास सम्बन्धी कार्यक्रमहरू का योजना सम्बन्धी निर्णय लिने कार्यमा मद्दत गर्छन्।

प्रश्न # ४. तपाईँको टेलिफोन नम्बर कति हो?

तपाईँको जनगणना फारम को बारे मा केही प्रश्न छ भने सम्पर्क गर्न सकियोस् भनी तथ्याङ्क विभागले तपाईँको फोन नम्बर सोध्छ । अमेरिकी तथ्याङ्क विभागले सम्बन्धित विषयको लागि आवश्यक भए मात्र  यस नम्बरको सहायताले तपाईँलाई सम्पर्क गर्दछ ।

प्रश्न # ५ देखि ९ सम्म व्यक्ति १ (घर मुलीको) को विवरण

प्रश्न # ५. तपाईँको (व्यक्ति १) को नाम के हो?

यसमा घर मुलीको नामबाट सुरु गर्नु होस । परिवारको कुनै एक वयस्क व्यक्तिलाई घर मुली मानी सुरु गर्न  सकिन्छ । तपाईँको परिवारका अन्य सदस्यहरूका नामहरू लेख्ने अवसरहरू पछि आउँछ।

अमेरिकी तथ्याङ्क विभागले तपाईँको घरको प्रत्येक सदस्यको बारेमा शृङ्खलाबद्ध प्रश्नहरू सोध्दछ । घर मुलीबाट प्रश्न सोध्न सुरु गर्नु को मुख्य कारण यसबाट गणना सहज हुन्छ र यसो गर्दा परिवारका कोही छुट्ने सम्भावना कम हुन्छ ।

प्रश्न # ६. तपाई (व्यक्ति १) को लिङ्ग के हो?

एक छान्नु होस् (वा X चिन्ह लगाउनुहोस्): पुरुष वा महिला।

यसले हामीलाई पुरुष र महिलाहरूका बारे तथ्याङ्क उपलब्ध गराउन सम्भव गराउँछ जुन विभिन्न कार्यक्रमहरूको योजना बनाउने काममा प्रयोग गर्न सकिन्छ। यो तथ्याङ्क भेदभाव विरुद्धका कानुन, नियम, र नीतिहरू कार्यान्वयन भए नभएको अनुगमन गर्न पनि प्रयोग गर्न सकिन्छ।

प्रश्न # ७. तपाई (व्यक्ति १) को उमेर कति हो र जन्म मिति के हो?

व्यक्ति १ को उमेर अप्रिल १, २०२० मा कति हुन्छ त्यो लेख्नु पर्दछ । यहाँ १ वर्ष भन्दा कम उमेरका बाल बालिकाहरूको लागि  उमेर ‘०’ वर्ष लेख्नु पर्छ; महिनामा उमेर लेख्नु हुँदैन । प्रथम प्रश्न घर मुली वा परिवारको एक वयस्क सदस्यलाई सोधिने भएकोले प्रथम व्यक्तिको हकमा उत्तर १ वर्ष भन्दा मुनि हुन सक्दैन; तर अन्य सदस्यको हकमा यो लागु हुन्छ । जन्म मिति लेख्दा अमेरिकी वर्ष अनुसार लेख्नु पर्छ । जस्तै, यदि व्यक्ति १ को जन्म मिति मार्च को १५ तारिख १९८५ हो भने महिना मा ‘०३’ दिनमा ‘१५’ र वर्षमा ‘१९८५’ लेख्नु पर्छ ।

अमेरिकी तथ्याङ्क विभागले विभिन्न उमेरको आकार र विशेषताहरू राम्रोसँग बुझ्नको लागि उमेर समूहहरू अनुसारका तथ्याङ्कहरू तयार गर्दछ। विभिन्न संस्थाहरूले यो तथ्याङ्क आफ्ना खास उमेर समूहहरू, जस्तै बालबालिकाहरू, वयस्कहरू वा वृद्धहरू लक्षित गरी बनाइने कार्यक्रमहरूको तर्जुमा र व्यवस्थापन गर्न प्रयोग गर्छन् ।

प्रश्न # ८. तपाई (व्यक्ति १) को मूल हिस्पानिक, ल्याटिन, वा स्पेनिस कुन हो ?

कृपया यो प्रश्न #८ हिस्पानिक मूल र प्रश्न #९ जात दुवैको उत्तर दिनु होला । यहाँ हिस्पानिक मूललाई जातको रूपमा लिइएको छैन ।

तपाइलाई उपयुक्त लाग्ने मध्ये एक उत्तर छान्नुहोस् :

  • होइन, म हिस्पानिक, ल्याटिन वा स्पेनिस मूलको होइन
  • हो, म म्याक्सिकन मूलको हो
  • हो, म पोर्टोरिकन हो
  • हो, म क्युबन हो
  • हो, म अन्य ……….।

यो प्रश्नमा सबै नेपालीहरूको उत्तर हुन्छ – होइन, म हिस्पानिक, ल्याटिन वा स्पेनिस मूलको होइन ।

हिस्पानिक मूललाई विरासत, राष्ट्रियता, वंश, वा व्यक्तिको जन्म भएको देश वा व्यक्तिको आमाबुबा वा पुर्खाको देश लाई मान्न सकिन्छ। हिस्पानिक, ल्याटिन, वा स्पेनिस मूलका व्यक्तिहरू कुनै पनि जातका हुन सक्छन् । जस्तै, हिस्पानिक गोरा, हिस्पानिक काला, आदि । यो प्रश्नबाट विभिन्न मूलका समूहको बारेमा तथ्याङ्कहरू उपलब्ध गराउन मद्दत गर्दछ। यसले केन्द्रीय सरकारका विभागहरूलाई पक्षपात विरोधी ऐन र नागरिक अधिकार ऐनमा भएका विभेद विरोधी प्रावधानहरूको कार्यान्वयन भए नभएको अनुगमन गर्न मद्दत गर्दछ।

प्रश्न # ९. तपाई (व्यक्ति १) को जातीयता के हो?

तपाईँले आफूलाई एक वा एक भन्दा बढी जातीयता भएको भनी उत्तर दिन सक्नु हुन्छ । तपाइहरूले यी जातीयताहरूबाट आफ्नो जातीयता के हो बताउनु पर्छ । यहाँ जातीयता भनेको नेपालको जात/जाति हैन; हामी सबै नेपालीहरू ले आफ्नो जातीयतामा “नेपाली” लेख्नु पर्छ ।

तपाइलाई उपयुक्त लाग्ने मध्ये उत्तरमा X चिन्ह लगाउनुहोस् र खालि ठाउँमा लेख्नु होस् :

  • गोरा- कुन हो लेख्नुहोस्, जस्तै जर्मन, आइरिश, …
  • कालो वा अफ्रिकी अमेरिकी – कुन हो लेख्नुहोस्, जस्तै अफ्रिकन अमेरिकन, जमैकन, …
  • अमेरिकी इन्डियन वा अलास्काका आदिवासी – कुन हो लेख्नुहोस्, जस्तै …
¨  चिनियाँ¨  भियतनामी¨  आदिवासी हवाई
¨  फलिपिनो¨  कोरियन¨  सामोन
¨  एशियाई भारतीय¨  जापानीज¨  क्यामेरो
¨  अन्य एशियाई जस्तै, नेपाली ¨  अन्य प्रशान्त टापु;
NEPALI    
¨  केही अन्य जात  

यसले हामीलाई जातको बारेमा तथ्याङ्कहरू प्राप्त गर्न र जातीय समूहहरू भित्र अन्य तथ्याङ्कहरूको विश्लेषण गर्न सम्भव गराउँछ । यो तथ्याङ्कले सङ्घीय सरकारका निकायहरूलाई पक्षपात विरोधी ऐन र नागरिक अधिकार ऐनमा भएका भेदभाव विरोधी प्रावधानहरूको कार्यान्वयन भए नभएको अनुगमन गर्न मद्दत गर्दछ।

तपाईँको घरमा एक जना मात्र भएको भए अरू थप फर्म भर्नु पर्दैन । तर तपाईँको घरमा अन्य व्यक्ति पनि भएमा ती व्यक्तिहरूको लागि निम्न प्रश्नहरूको उत्तर दिनु पर्छ ।

परिवारको दोस्रो व्यक्ति (प्रश्न # १ देखि ७ सम्म)

प्रश्न # १ दोस्रो व्यक्तिको नाम के हो ?

यहाँ, तपाईँको परिवारको अर्को व्यक्तिको नाम लेख्नु पर्छ । २०२० जनगणनाले तपाईँको परिवारको प्रत्येक सदस्यको बारेमा जानकारी माग्छ ।

आउने प्रश्नहरू यही व्यक्तिसँग सम्बन्धित हुन्छन् । यो प्रक्रिया तपाईँको परिवारका प्रत्येक व्यक्ति को लागी दोहोरिन्छ।

प्रश्न #२. के यो व्यक्ति (ब्यक्ति #२) सामान्यतया अन्त कहीँ रहन्छ?

लागू हुने सबैमा X चिन्ह लगाउनुहोस्:

¨  होइन 
¨  हो, कलेजको लागि¨  हो, अभिभावक वा अन्य आफन्तका साथ
¨  हो, एक सैन्य असाइनमेन्ट को लागी¨  हो, मौसमी वा दोस्रो निवासमा
¨  हो, जागिर वा व्यवसायको लागि¨  हो, जेलमा
¨  हो, एक नर्सिङ होम मा¨  हो, अर्को कारणको लागि ।

यो प्रश्नले तथ्याङ्क विभागले सबैलाई एक पटक, केवल एक चोटि, र सही ठाउँमा गणना गरिरहेको छ भनेर सुनिश्चित गर्न मद्दत गर्दछ। यदि सामान्यतया यो व्यक्ति अन्यत्र बस्छ भने उत्तर “होइन” भन्ने हुन्छ; अन्यत्र बस्नेहरू उनीहरू बस्ने ठाउँबाट नै गणना हुन्छन् ।

प्रश्न #३. यो व्यक्ति (व्यक्ति #२) व्यक्ति # १ सँग कसरी सम्बन्धित छ?

यो व्यक्तिको लागि उपयुक्त हुने उत्तर मा X चिन्ह लगाउनुहोस्।

¨  विपरीत लिङ्गको पति/पत्नी¨  बुबा वा आमा
¨  विपरीत लिङ्गको अविवाहित पार्टनर¨  नातिनातिना
¨  समलिङ्गी पति/पत्नी¨  सासू-ससुरा
¨  समलिङ्गी अविवाहित पार्टनर¨  ज्वाइँ वा बुहारी
¨  जैविक छोरा वा छोरी¨  अन्य सम्बन्धित
¨  अपनाइएका छोरा वा छोरी¨  रूममेट वा हाउस मेट
¨  सौतेनी छोरा वा छोरी¨  पालेका बालबालिका
¨  भाइ वा बहिनी¨  अन्य गैर-सम्बन्धित

यसले तथ्याङ्क विभागलाई परिवार र अन्य समूहहरूको बारेमा तथ्याङ्क तयार गर्न आवश्यक डाटा उपलब्ध गराउँछ । बाबु वा आमा एक्लै ले बालबालिकाहरू हुर्काई रहेका व्यक्तिहरू वा अन्य परिवारहरूलाई लक्षित गरी बनाइएका कार्यक्रमहरूको तर्जुमा गर्न र कार्यक्रमको कार्यान्वयन गर्न परिवारका सदस्यहरूको सम्बन्ध सम्बन्धित तथ्याङ्कहरू उपयोगी हुन्छन् ।

प्रश्न # ४ देखि ७ सम्म का प्रश्नहरू व्यक्ति #१ लाई सोधे जस्तै हुन् ।

प्रश्न #४. व्यक्तिको लिङ्ग के हो ?

प्रश्न #५. व्यक्तिको उमेर कति हो र जन्म मिति के हो ? उमेर हिसाब गर्दा अप्रिल १, २०२० मा कति वर्ष भयो त्यो लेख्नु पर्छ ।

प्रश्न #६. के तपाई हिस्पानिक, ल्याटिन, वा स्पानिक मूलको हुनु हुन्छ ?

प्रश्न #७. तपाईँको जातीयता के हो ? [यो धेरै नै महत्त्वपूर्ण प्रश्न हो । हाम्रो अनुरोध के छ भने यसमा अन्य एसियाली छानी खाली ठाउँमा Nepali लेख्नु पर्छ ।]

तपाइको परिवारको तेस्रो व्यक्तिको लागि दोस्रो व्यक्तिको जस्तै गरी फर्म भर्नु पर्छ र यो प्रक्रिया परिवारका सबै सदस्यका लागि दोहोर्‍याउनु पर्छ ।

अन्तमा, सबै नेपालीहरूले जनगणनामा भाग लिनु पर्दछ; यो अमेरिकी कानुनमा व्यवस्था भएको छ । जनगणनाको २०२० अवधिमा तथ्याङ्क विभागले तपाईँलाई कहिले पनि तपाईँको सामाजिक सुरक्षा नम्बर (Social Security Number), पैसा वा दान, राजनैतिक पार्टीको तर्फबाट सहयोग, तपाईँको बैङ्क वा क्रेडिट कार्ड खाता नम्बरहरू माग्दैन । यदि कसैले आफूलाई तथ्याङ्क विभागबाट आएको भनी दाबी गर्छ वा इमेल वा फोन मार्फत तपाईँलाई सम्पर्क गर्दछ र तपाईँलाई यी माथि उल्लेखित मध्ये कुनै पनि एउटाको लागि सोध्दछ भने त्यो घोटाला हो र तपाईँले त्यस्तालाई आफ्नो सूचना दिनु हुँदैन। तथ्याङ्क विभागले तपाईँको व्यक्तिगत जानकारी गोप्य राख्दछ; र तपाईँको डाटा सांख्यिकीय उद्देश्यहरूको लागि मात्र प्रयोग गर्दछ । तथ्याङ्क विभाग तपाईँको जानकारीको रक्षा गर्न सङ्घीय कानुन द्वारा बाध्य छ । त्यसैले  सबैले आगामी जनगणनामा भाग लिऊ; नेपाली पहिचान सहित भाग लिऊ ।

(लेखक बन्जाडे गैरआवासिय नेपाली सङ्घ अमेरिकाका वरिष्ट उपसभापति तथा सेन्सस २०२० टास्क फोर्शका संयोजक हुन्)

Published in Setopati on February 1, 2020

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top